खाद्य असुरक्षाविरुद्धको लडाइँ लड्नुपर्ने अवस्था छ: प्रधानमन्त्री
काठमान्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोक र खाद्य असुरक्षाविरुद्धको लडाइँ अझै दृढताका साथ लड्नुपर्ने बताउनुभएको छ । उहाँले हाम्रो खाद्य प्रणालीमा परिवर्तन गर्नुपनि भोकविरुद्धको लड्ने अस्त्र भएको धारणा राख्नुभएको छ ।
संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना भएको ‘युनाटेड नेसन्स् फूड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले दिगो भविष्यका लागि मार्ग प्रशस्त गर्न आधुनिक खाद्य प्रणाली कमजोर साबित भएकाले त्यसमा सुधार ल्याउनु जरुरी रहेको उल्लेख गर्नुभयो ।
वर्तमान खाद्य प्रणालीले जैविक विविधतालाई क्षीण बनाएको, असमानता बढाएको, असमान उत्पादन र उपभोगलाई मात्रै प्रश्रय दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । त्यस्ता प्रणालीले हरितगृह ग्यास उत्सर्जनमा बढावा दिएको, जलवायु परिवर्तनमा प्रभाव पारेको र परम्परागत अभ्यासलाई खण्डित गरेको उहाँले बताउनुभयो ।
खाद्य प्रणालीका कारण नसर्ने रोगको वृद्धिले जनस्वास्थ्यमा नकारात्मक प्रभाव परेको स्पष्ट पार्दै प्रधानमन्त्रीले भन्नुभयो, “खाद्य प्रणालीमा हामीले गर्ने परिवर्तनले मात्रै यस्ता विविध चुनौतीलाई सम्बोधन गर्न सकिन्छ ।”
प्रधानमन्त्री प्रचण्डले खाद्य प्रणालीमा ल्याइने परिवर्तनले मात्रै जीविकोपार्जनमा सुधार, आर्थिक विकासमा बढावा दिई गुणस्तरीय जीवनयापनका लागि योगदान गर्न सकिने स्पष्ट पार्नुभयो । उहाँले त्यस्तो रुपान्तरणले थप समतामूलक, लचिलो र दिगो खाद्य प्रणालीको नेतृत्व गर्ने विश्वास व्यक्त गर्नुभयो ।
admin