जनताको आदेशअनुसार काम गर्छौँ: सभापति लामिछाने

जनताको आदेशअनुसार काम गर्छौँ:  सभापति लामिछाने

काठमान्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताका मुद्दालाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टीले काम गर्ने बताउनुभएको छ । सो पार्टीको आज आयोजित तारकेश्वर नगरपालिका भेलामा उहाँले जनताले सोधेका सबै प्रश्नको जवाफ दिन आफूहरु सधैँ तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाली जनताको मुद्दामा हामी स्पष्ट छौँ, जनताको आदेशअनुसार काम गर्छौँ ।” विसं २०८४ मा हुने निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने उल्लेख गर्दै सभापति लामिछानेले निर्वाचनमा जित हासिल गर्न अहिलेदेखि नै लागिएको बताउनुभयो । “विसं २०८४ को निर्वाचन हाम्रो पार्टीको अर्जुनदृष्टिमा रहेको छ”, उहाँले भन्नुभयो, “अहिले हामी संसद्मा दह्रो र खरो भएर उभिएका छौँ ।”

राष्ट्रिय स्वतन्त्र पार्टी कसैको पछि नलाग्ने उल्लेख गर्दै उहाँले आफ्नो पार्टीले सहीलाई सही र गलतलाई गलत भन्ने दाबी गर्नुभयो । “रास्वपा दह्रो खुट्टा बनाएर अघि बढेको छ, भष्टचारको अन्त्य गर्न खबरदारी गरिरहेका छौँ”, पूर्वगृहमन्त्रीसमेत रहनुभएका लामिछानेले भन्नुभयो ।

केन्द्रीय सदस्य तथा सांसद गणेश पराजुलीले रास्वपालाई जनताले दिएको विश्वासलाई पूरा गर्न लागि रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । पूर्वमन्त्री शिशिर खनालले विसं २०८४ को निर्वाचनमा आफ्नो पार्टीलाई जनताले विजयी गराउने विश्वास व्यक्त गर्नुभयो ।