प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका एजेन्डा तय भएका छैनन्ः परराष्ट्रमन्त्री साउद

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका एजेन्डा तय भएका छैनन्ः परराष्ट्रमन्त्री साउद

काठमान्डौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमणको तयारी भइरहेपनि अहिलेसम्म एजेण्डा तय नभएको बताउनुभएको छ । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री साउदले प्रधानमन्त्रीको चीन भ्रमणका समयमा कार्यान्वयन गर्न सकिने परियोजनामा छलफल गर्ने तयारी भएपनि औपचारिक रुपमा एजेण्ड तय नभएको जानकारी गराउनुभएको हो ।

उहाले चीनले नेपाललाई सहयोग अनुदान गर्दै परियोजनामा रकम विनियोजन हुन नसकेको र विनियोजनका लागि अर्थ मन्त्रालयसँग गम्भीर गृहकार्य गरिरहेको पनि जानकारी दिनुभयो । मन्त्री साउदले चीन भ्रमणका बेला नेपालसंग जोडिएका नाकालाई सहज रुपमा सञ्चालनका लागि पनि छलफलको एजेण्डा बनाउने तयारी भएको बताउनुभयो ।

त्यस्तै उहाले नेपालको संसदले पारित गरेको नयाँ नक्साको सम्मान चीनले गर्नुपर्ने उल्लेख गर्नुभयो । नयाँ नक्सा जारी भइसकेपछि पनि यस बिषयमा चीनलाई जानकारी गराएको औपचारिक रेकर्ड फेला पर्न नसकेको उहाको भनाइ छ । चीनलाई पत्राचार गरिएको जानकारी आए आफु आभारी हुने समेत उहाले बताउनुभयो । 

बैठकमा सांसदहरुले नयाँ नक्साका बारेमा अन्य राष्ट्रहरुलाई जानकारी गराइएको बिषयमा मन्त्री साउदसंग प्रश्न गरेका थिए । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले नेपालको नक्साका बारेमा चीनलाई जानकारी गराएको विषयमा वर्तमान परराष्ट्रमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीको कुरा बाझिएको भन्दै सत्यतथ्य सार्वजनिक हुनुपर्ने बताउनुभयो ।

त्यस्तै माओवादी केन्द्रका सांसद बर्षमान पुन अनन्तले नयाँ नक्सा जारी गरिसकेको अवस्थामा अन्य मुलुकमा पत्राचार गरेको बिषयमा भएको कमीकमजोरीका बारेमा समितिमा जानकारी गराउनुपर्ने बताउनुभयो । उहाले नेपालको आन्तरिक मामिलामा कुनै पनि राजदूतले टिप्पणी गर्ने परम्परा बस्न दिन नहुने धारणा राख्नुभयो ।

त्यस्तै अन्य सांसदहरुले चीनको नक्सामा नेपालको पुरानै नक्सा राखिएको बिषयमा कुटनीतिक तवरले वार्ता गर्नुपर्नेमा जोड दिएका थिए । मन्त्री साउदले भने यस बिषयमा मन्त्रालयले कुटनीतिक नोट जारी गरिएको जानकारी गराउनुभएको थियो ।