बाघ संरक्षण पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण: राष्ट्रपति

बाघ संरक्षण पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण: राष्ट्रपति

काठमान्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण हुने बताउनुभएको छ ।

विश्व बाघ दिवस, २०२३ को अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले उक्त तथ्यलाई मनन गरी बाघ संरक्षणको दिगो व्यवस्थापनमा खटिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीलाई आह्वान गर्नुभएको छ ।

“बाघको संरक्षणमा नेपालले संसारमा नै नेतृत्वदायी भूमिका निर्वाह गरेको हुँदा बाघ जोगाउन अथक प्रयास गर्ने संरक्षणकर्मी, सुरक्षाकर्मी, जनसहभागितामा जुट्ने स्थानीय बासिन्दा, सञ्चारकर्मी एवं सहयोगी संस्थालाई विशेष धन्यवाद दिन चाहन्छु”, उहाँले भन्नुभएको छ ।

बाघको चोरी शिकारी तथा बाघका अङ्गको अवैध व्यापार गर्ने ध्येयले गरिने आखेटोपहार ओसारपसार नियन्त्रणका लागि नेपालका सम्बद्ध निकायले निर्वाह गरेको भूमिकाले विश्वव्यापी बाघ संरक्षणको अभियानमा पुगेको पहलकदमी सार्थक भएको उहाँको भनाइ छ ।

“राष्ट्रिय निकुञ्ज तथा वन्यजन्यु आरक्ष क्षेत्रको विकासले बाघको बासस्थानलाई सुरक्षित बनाउन टेवा पुगेको छ । बाघ र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न र स्थानीय बासिन्दाको वन पैदावारमाथिको निर्भरता कम गर्न जीविकोपार्जनका वैकल्पिक कार्यक्रम सञ्चालनका लागि विशेष पहल गर्नु अत्यावश्यक छ”, राष्ट्रपति पौडेलले भन्नुभएको छ ।