ललितानिवास प्रकरणका कुनै दोषी छुट्दैनन्: गृहमन्त्री श्रेष्ठ
काठमान्डौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन र सामाजिक न्याय वर्तमान सरकारको प्रमुख कार्यभार रहेको बताउनुभएको छ । ललितपुरको हात्तीवनस्थित निजी निवासमा आज पत्रकारसँगको अनौपचारिक कुराकानीमा उहाँले सामाजिक, आर्थिक रुपान्तरणमा सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो । “राजनीतिक परिवर्तनपछि जनताको जीवनमा गुणात्मक परिवर्तन हुनुपथ्र्यो, त्यसो हुन सकेको छैन”, उहाँले भन्नुभयो, “अब नयाँ ढाँचाको समृद्धि र विकास होस्, जनताले अनुभूति गर्न सक्ने खालको आर्थिक सामाजिक परिवर्तन होस् भन्ने छ, त्यसैले सरकार सामाजिक, आर्थिक रुपान्तरणमा केन्द्रित भएको छ ।” जनताको सङ्घर्षका बलमा राजनीतिक उपलब्धि हासिल भए पनि जनताको आर्थिक सामाजिक अवस्थामा सुधार आउन नसक्दा परिवर्तनको औचित्यमाथि नै प्रश्न उठ्न थालेको भन्दै उहाँले विकास र समृद्धि सरकारको मुख्य लक्ष्य भएको बताउनुभयो । “राजनीतिक उपलब्धिलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तार गर्नुपर्छ, राजनीतिक परिवर्तनलाई माध्यम बनाएर सामाजिक आर्थिक रुपान्तरण गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
admin