समाज जागरुक बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : सभामुख घिमिरे
काठमान्डौं । सभामुख देवराज घिमिरेले नेपाली पत्रकारिताले समाजलाई जागरुक र रुपान्तरण गर्दै अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । ‘संसदीय मामिला पत्रकार समाज’का नवनिर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण कार्यक्रममा सभामुख घिमिरेले लोकतन्त्रको निर्दिष्ट उद्देश्य पूरा गर्ने क्रममा देखिएका कमजोरी हटाइ सवल बनाउन लाग्नुपर्ने धारणा राख्नुभयो । “संसदलाई राष्ट्रहितमा लैजान सञ्चारक्षेत्रको भूमिका छ, सञ्चारमाध्यमबाट यसमा गति र प्रभाव दिने काम भएको छ”, उहाँले भन्नुभयो । ‘संसदीय मामिला पत्रकार समाज’को जिम्मेवारी पत्रकारिता भए पनि संसद्को परिवार पनि भएको भन्दै उहाँले प्रतिस्पर्धाका आधारमा नयाँ कार्यसमिति चयन भएकोमा बधाई ज्ञापन गर्नुभयो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद्का गतिविधिलाई सिधैँ जनता समक्ष पु¥याउने काममा संलग्न समाजका पदाधिकारी संसद्का ऐनाकारुपमा रहेको बताउनुभयो । “संसद् होस वा समाजका समाचार बिना कुनै आग्रह र पूर्वाग्रहमा सम्प्रेषण हुनुपर्छ, समाजमा देखिएका कमी कमजोरीलाई उजागर गर्नुपर्छ”, उहाँले भन्नुभयो, “समाजलाई संसद्को सबैखाले सहयोग उपलब्ध हुनेछ ।” देशको विकास, समृद्धि गर्दै सुशासन कायम गर्नमा सबैको दायित्व भएको उहाँको भनाइ छ । उहाँले स्वच्छ र स्वतन्त्र वातावरणमा निर्वाचनको अभ्यास आजको आवश्यकता भएको धारणा राख्नुभयो ।
admin