सरकार सुशासन, भ्रष्टाचारविरुद्ध प्रतिबद्ध छ: सञ्चारमन्त्री शर्मा
काठमान्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारले सुरुदेखि नै सुशासन, भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत भई रहेको बताउनु भएको छ । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय मधेस प्रदेशद्वारा आज जनकपुरधाममा आयोजित नेपाल टेलिकमको सेवासम्बन्धी जानकारी एवं अन्तरक्रियामा सञ्चारमन्त्री शर्माले भन्नुभयो, “सरकार सुरुदेखि नै सुशासनमा केन्द्रित हुँदै भ्रष्टाचारविरुद्ध कडाइका साथ प्रस्तुत भएको हुँदा सरकारका कदमबाट धेरैलाई टाउको दुखेको छ ।”
उहाँले सरकारले अहिले नागरिकता विधेयक ल्याएर मधेसमा ठूलो समस्याका रुपमा देखिएको समस्या समाधान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले नागरिकताविहीन नेपालीका छोराछोरीले नागरिकता पाइरहेका छन् । निजामती सेवा ऐन पनि अगाडि बढ्दैछ । सेवा प्रवाहका काममा पनि सरकार गम्भीरताका साथ लागेको छ । यसबाट कसैको टाउको दुखेको छ, त्यो सडक र सदनमा पनि बेलाबेला देखिन्छ ।”
मन्त्री शर्माले सक्कली नेपालीलाई नागरिकता दिन विधेयक ल्याएको बताउँदै कहीँ कतै त्यसको दुरुपयोग भए कानुनको दायरामा आउने स्पष्ट पार्नुभयो । उहाँले अहिले सरकारले मिटरब्याज पीडितहरुलाई न्याय दिनका लागि शक्तिशाली आयोग बनाएर जनकपुरधामबाट नै समस्या समाधानको पहल गरिएको र पीडितलाई न्याय दिने काम अघि बढेको बताउनुभयो ।
admin