चीन भ्रमणमा ऊर्जासम्बन्धी महत्वपूर्ण सम्झौता हुने प्रधानमन्त्रीको भनाई
काठमान्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणका क्रममा उर्जा क्षेत्रमा महत्वपूर्ण सम्झौता हुने बताउनुभएको छ । नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सव समारोहलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी महिनामा हुने चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने बताउनुभएको हो ।
उहाले छिमेकी मित्रराष्ट्र चीनसँग चिलिमे–केरुङ २२० के.भी. प्रसारण लाइन निर्माणमार्फत जोडिन सोसँग सम्बन्धित अध्ययन कार्य पूरा गरी कार्यान्वयन तहमा प्रवेश गर्ने योजनाका साथ अघि बढेको जानकारी दिनुभयो ।
उहाले हाल भारतमा करिब ४५० मेगावाट विद्युत निर्यात भइरहेको अवस्थाबाट नेपालको विद्युत निर्यातलाई १० वर्षमा १० हजार मेगावाटसम्म पु¥याउने गरी द्विपक्षीय सम्झौतामा नेपाल र भारतबीच प्रारम्भिक हस्ताक्षर भइसकेको सन्दर्भलाई दक्षिण एसियामै विद्युत व्यापारको क्षेत्रमा उल्लेखनीय पहलकदमीका रुपमा हेरिएको जिकिर गर्नुभयो । भारतसँगको उक्त समझदारीलाई मूर्तरूप दिन अन्तरदेशीय प्रसारण संरचनाहरूको योजना र निर्माणमा दुबै देशका तर्फबाट आवश्यक कार्यहरूले गति लिन थालेको उहाले बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले यसै वर्षायामभित्र नेपाल–बंगलादेश विद्युत व्यापार सुरु हुने गरी नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको पनि जिकिर गर्नुभयो ।
विद्युत प्राधिकरणको संलग्नतामा आगामी दिनमा १,२०० मेगावाट क्षमताको बुढीगण्डकी जलासय तथा १०,८०० मेगावाट क्षमताको बहुआयमिक कर्णाली चिसापानी जस्ता ठूला जलविद्युत आयोजनाहरूको निर्माण अघि बढाउने सोंच र लक्ष्यका साथ सरकार अघि बढिरहेको उहाले बताउनुभयो । त्यस्तै उहाले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह समेत गर्नुभयो ।
कार्यक्रम नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले सेयर निष्काशन गर्ने तयारी गरेको भन्दै प्राथमिक सेयर निष्काशनबाट संकलन गरिएको रकम ठूला जलविद्युत आयोजनाको निर्माणमा लगानी बताउनुभयो ।
प्राधिकरणको सम्पूर्ण सम्पत्तीको वास्तविक मूल्यांकन गराइएको र क्रेडिट र रेटिङ गर्ने संस्था इक्रा नेपालले समग्र अवस्थाको अध्ययन गरी डबल ए प्लस रेटिङ दिएको उहाले जानकारी दिनुभयो । उहाले गुणस्तरीय र भरपर्दो विद्युत् सेवा प्रवाहका लागि वितरण प्रसारण प्रणालीको निर्माण, सबस्टेशनको निर्माण तथा आधुनिकीकरणमा जोड दिएको बताउनुभयो ।
त्यस्तै घिसिङले अहिले मुलुकभरका ९८ प्रतिशत जनतामा विधुतको पहुँच पुगेको भन्दै आगामी दुई बर्षभित्रमा सत प्रतिशत जनतामा विधुतको पहुँच पुराउने लक्ष्यका साथ अघि बढेको जानकारी दिनुभयो ।
admin