नयाँ विमानस्थल थप्न आवश्यक नरहेको: सांसद भट्टराई

नयाँ विमानस्थल थप्न आवश्यक नरहेको: सांसद भट्टराई

काठमान्डौं । सांसद योगेशकुमार भट्टराईले नयाँ विमानस्थल थप्न आवश्यक नरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गतको विनियोजित बजेटमा छलफलका क्रममा खर्च कटौतीको प्रस्ताव गर्दै उहाँले देशभर रहेका ५५ विमानस्थलको मर्मत र विस्तार गर्नुपर्नेमा जोड दिँदै नयाँ विमानस्थल थप्न आवश्यक छैन भन्नुभयो । उहाँले देशभर अधिकांश स्थानमा सडक सञ्जालसँगै यातायातको पहुँच पुगेको जनाउँदै आवश्यकताका आधारमा मात्र विमानस्थल निर्माण गर्नुपर्ने बताउनुभयो ।

“५५ विमानस्थलमध्ये केही सञ्चालनमा छैनन् र हुनसक्ने अवस्थामा पनि छैनन् । यस्तो अवस्थामा नयाँ विमानस्थल थप्ने कि नथप्ने, यो एउटा ठूलो नीतिगत प्रश्न”, उहाँले भन्नुभयो, “यो नीति तथा कार्यक्रम र बजेटमा फेरि पनि नचाहिँदो ठाउँमा विमानस्थल थपिँदैछ । जुन ठाउँबाट ४५ मिनेटको यातायातको दूरीमा अर्को ठूलो विमानस्थल छ ।” उहाँले पर्यटकीय दृष्टिकोणले महत्वपूर्णस्थल सुकेटार, तुम्लिङ्टार, लुक्ला, जोमसोम, जुफाल, सिमकोट र ताल्चा विमानस्थलको स्तरोन्नति गर्न सुझाव दिनुभयो । यस्तै भरतपुर र सुर्खेत विमानस्थलको विस्तार तथा स्तरोन्नति गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।