वीरगन्जबाट सशस्त्र प्रहरीद्वारा अवैध सामग्री बरामद

वीरगन्जबाट सशस्त्र प्रहरीद्वारा अवैध सामग्री बरामद

वीरगन्ज।  सशस्त्र प्रहरीले वीरगन्जबाट ३ लाखभन्दा बढीको अवैध सामग्री बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ३ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामग्री बरामद गरेको हो । 

वीरगन्जको ईनर्वास्थित भन्सार क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको चेकीङ्ग टोलीले चेकजाँचको क्रममा २ लाख मूल्य बराबरको अवैध सामग्री बरामद गरेको गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) रामजंग पाण्डेले जानकारी दिए । 

डिएसपी पाण्डेकाअनुसार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा काजु, लत्ता कपडा, मोवाइल ब्याट्रीसहित विभिन्न पेय पदार्थहरु बरामद गरिएको हो । यसअघि आइतवार पनि १ लाख २९ हजार मूल्य बराबरको सामग्री बरामद गरिएको डिएसपी पाण्डेले जानकारी दिए ।

डिएसपी पाण्डेले भने, ‘पछिल्लो समयमा अवैध रुपमा सामग्री ल्याउन नदिनका लागि हामीले सुरक्षा व्यवस्था कडा बनाएका छौँ । दुई दिनमा ३ लाखभन्दा बढीको सामान बरामद गर्न सफल भएका छौँ ।’ 

आइतवार र सोमवार बरामद गरिएका ३ ला २९ हजार भन्दा बढी मूल्य बराबरको सामग्री वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको डिएसपी पाण्डेले बताए ।