सरसफाइ सबैका लागि आवश्यक विषय हो : गृहमन्त्री श्रेष्ठ
काठमान्डौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरसफाइ सबैका लागि आवश्यक विषय हो भन्दै सरसफाइ गर्ने व्यक्ति कहिल्यै सानो नहुने बताउनुभएको छ । गृह मन्त्रालयले आयोजना गरेको आधारभूत सरसफाइ तथा स्वच्छतासम्बन्धी दशदिने तालिमको समापन कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सरसफाइ मानवीय जीवनको महत्वपूर्ण कार्य भएकाले सबैले यो काम सिक्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरसफाइ गर्ने मानिस साना हुन्छन् या सानाले मात्रै सरसफाइको काम गर्नुपर्छ भन्ने हुँदैन, यो गलत सोच हो ।” नेपाली समाजमा सरसफाइकर्मीलाई हेर्ने दृष्टिकोण गलत रहेको र यसलाई परिवर्तन गर्नुपर्ने उहाँको भनाइ थियो । मन्त्री श्रेष्ठले सरसफाइको काम सबैले सिक्नुपर्ने भन्दै मन्त्रालयमा आयोजित सरसफाइसम्बन्धी उक्त तालिममा आफू पनि सहभागी हुने इच्छा रहेको भए पनि कार्यव्यस्तताका कारण सहभागी हुन नसकेको जानकारी दिनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले हरेक व्यक्तिले धेरै थोरै जति भए पनि शारीरिक श्रम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “आजकल आधुनिक तथा सम्पन्न परिवारका मानिस शारीरिक श्रम गरे सानो मान्छे भइन्छ भन्ने गलत चिन्तनको विकास भएको छ, यस्तो संस्कार बस्यो भने भोलिको पुस्ताले पनि दुःख पाउँछ, घरको कोठा, बगैँचा, आफूले खाना खाएका भाँडा सफा गर्ने आदिजस्ता केही न केही श्रममा अहिलेदेखि नै बालबालिकालाई लगाउनुपर्छ ।”
admin