सेनाको सङ्ख्यालाई निरपेक्षरूपमा हेरिनुहुन्न : रक्षामन्त्री खड्का
काठमान्डौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय परिवेशका आधारमा नेपाली सेनाको सङ्ख्या निर्धारण हुने भएकाले सङ्ख्यालाई निरपेक्षरूपमा हेरिनु नहुने बताउनुभएको छ । सरकारद्वारा आव २०८०/८१ का लागि प्रस्तुत बजेट तथा कार्यक्रममा रक्षा मन्त्रालय र मातहतका निकायका विषयमा उठेका जिज्ञासाको जवाफ दिँदै उहाँले संविधान र कानुनले सुम्पिएको तथा सरकारद्वारा समयसमयमा तोकिएका जिम्मेवारी एवं अन्तर्राष्ट्रिय शान्ति स्थापना र मुलुकको भौगोलिक अवस्था तथा विकटताका आधारमा सङ्ख्या तय हुने स्पष्ट गर्नुभयो । उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “सेनाको सङ्ख्यालाई मुलुकको भौगोलिक अवस्थिति, अन्तर्राष्ट्रिय सुरक्षा परिवेश, मुलुकको आवश्यकता तथा सेनाले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा निर्वाह गरिरहेको महत्वपूर्ण जिम्मेवारीलाई समेत मध्यनजर गरी विश्लेषण गर्न सान्दर्भिक हुन्छ ।” सेनाको सङ्ख्या राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा सरकारले निर्धारण गर्ने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै उहाँले सेनालाई मुलुकको आवश्यकताअनुसार सक्षम, सबल र सुदृढ गरिँदै लगिने बताउनुभयो ।
सेना संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न सदैव सजग, सचेत र तत्पर रहेको जिकिर गर्दै उपप्रधानमन्त्री खड्काले विश्वको बद्लिँदो सुरक्षा परिवेशमा प्रत्येक राष्ट्रले आआफ्नै किसिमका सुरक्षा चुनौती तथा खतराको सामना गर्नुपरेको उल्लेख गर्नुभयो ।
admin