देश कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री

देश कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री

काठमान्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नविनतम प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको ११औँ साधारण बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रका लागि आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रसार कार्यमा लाग्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘‘कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रलाई आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रसारकार्यमा सघाउ पु¥याउने कार्य विश्वविद्यलायले गर्ने अपेक्षा गरेको छु ।”

नेपालमा कृषि, पशु चिकित्सा, मत्स्य विज्ञान, पशु विज्ञान र वन विज्ञान क्षेत्र लगायतका प्राकृतिक स्रोत व्यवस्थापनको विषयमा अध्ययन, अनुसन्धान र प्रविधिको विकास गर्न प्राविधिक विश्वविद्यालयको खाँचो महसुस भएकाले कृषि तथा वन विज्ञान विश्वविद्यालयका रुपमा २०६७ सालमा स्थापना गरिएको हो ।

देशकै पहिलो प्राविधिक विश्वविद्यालयको रूपमा स्थापित यस विश्वविद्यालयले एकीकृत रूपमा शिक्षण, अनुसन्धान तथा प्रविधि प्रसारको कार्य गरी देशको कृषि, पशु तथा वन क्षेत्रको समग्र विकासमा ठूलो योगदान पु¥याउने प्रधानमन्त्री दाहालको अपेक्षा छ । उहाँले सो विश्वविद्यालयलाई सरकारको सहयोग निरन्तर भइरहने विश्वास दिलाउनुभयो ।

विश्वविद्यालयले देशैभरि आंगिक कलेज स्थापना गर्ने लक्ष्यअनुरूप विभिन्न प्रदेशमा आठ कृषि सङ्काय र एउटा वन विज्ञान सङ्कायअन्तर्गतका कलेज तथा दुई कृषि विज्ञान केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याइसकेको छ ।