पत्रकारिताले आफ्नो धर्म छाड्नु हुँदैन: अध्यक्ष बस्नेत

पत्रकारिताले आफ्नो धर्म छाड्नु हुँदैन: अध्यक्ष बस्नेत

काठमान्डौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाज र जनताप्रति पत्रकारिताको ठूलो दायित्व हुने भएकाले आफ्नो धर्म छाड्न नहुने धारणा राख्नुभएको छ । नेपाल प्रेस काउन्सिलले आज यहाँ आयोजना गरेको पत्रकार आचारसंहिता कार्यान्वयनको २८औँ शृङ्खलामा अध्यक्ष बस्नेतले समाजप्रति जिम्मेवारी निर्वाह गर्दै पत्रकारिताले आफ्नो धर्म निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले राज्य र अन्य निकायले नसुनेका समस्या सञ्चारमाध्यमले उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।

“सरकार र विभिन्न क्षेत्रले नसुनेका कुराहरु सञ्चारमाध्यममा आइदिए हुने थियो भन्ने धेरैको चाहना हुन्छ, सत्य कुरा बाहिर ल्याउनका लागि सञ्चारमाध्यमको भर परेका हुन्छन्”, उहाँले भन्नुभयो, “पत्रकारिताले आफ्नो धर्म छाड्ने र आचारसंहिताको पालना नगर्ने हो भने समाज र जनताले गरेको विश्वासप्रति ठूलो धोका हुन्छ ।”

छापा सञ्चारमाध्यमलाई परिष्कृत गर्दै डिजिटल माध्यमलाई समृद्ध बनाउने अवस्थामा आइपुगेको हुनाले अनलाइन पत्रकारितालाई स्वागत गर्नुपर्ने समय भएको उहाँले उल्लेख गर्नुभयो । “डिजिटल मिडियाको विकल्प छैन, पत्रकार को हो ? भन्ने समाजमा प्रश्न उठिरहेको छ”, उहााले भन्नुभयो, “युट्युवलगायतका सामाजिक सञ्जालका कारणले पत्रकार को हो भनेर प्रष्ट पार्न जरुरी देखिएको छ, त्यसबारेका काउन्सिलले गृहकार्य गरिरहेको छ ।”

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपाली पत्रकारिता क्षेत्रलाई श्रम शोषणमुक्त क्षेत्र हो भन्ने भाष्य स्थापना गर्न जरुरी भएको बताउनुभएको छ । “अन्य क्षेत्रमा पनि श्रमको उचित मूल्य पाएका छैनन्, तर त्यो आवाज उठाउने सञ्चार क्षेत्रमा श्रमको शोषण हुनु हुँदैन”, उहाँले भन्नुभयो, “अरूका लागि पनि आवाज उठाउने सञ्चार क्षेत्रमै समस्या भयो भने कसरी आवाज उठाउन सकिन्छ ?”

पत्रकारिताप्रतिको जनविश्वास अझ बढाउने गरी काम गर्नका लागि सञ्चारगृह सञ्चालकलाई आग्रह गर्दै उहाँले पत्रकारिताको स्तर खस्किन नदिने गरी काम गर्नुपर्ने र त्यसका लागि पत्रकारको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।