प्रिन्सटन मोडेल एकेडेमीमा वीरगन्ज महानगरद्वारा सिलबन्दी

प्रिन्सटन मोडेल एकेडेमीमा वीरगन्ज महानगरद्वारा सिलबन्दी

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले शैक्षिक संस्थाको अनुगमनलाई निरन्तरता दिएको छ । यसअघि ५ वटा शैक्षिक संस्थामा शिलबन्दी गरेको महानगरले मंगलवार वीरगन्ज महानगरपालिका वडा नम्बर ८ पानीटंकीमा रहेको प्रिन्सटन मोडेल एकेडेमीमा पनि सिलबन्दी गरेको छ ।

अनुमति नै नलिई कक्षा ११ र १२ सञ्चालन गरिरहेको पाएपछि महनगरद्वारा ईश्वरचन्द्र यादवको नेतृत्वमा गठित नियमन समितिले एकेडेमीमा सिलबन्दी गरेको हो । 

कक्षा ११ सञ्चालनका लागि अनुमति लिने प्रक्रियामै रहेको एकेडेमीले विद्यार्थी भर्ना गरेर कक्षा सञ्चालन गरेको पाएपछि सिलबन्दी गरिएको नियमन समितिका संयोजक यादवले जानकारी दिए । त्यसका साथै वीरगन्ज सेन्ट्रल स्कूलको नाममा कक्षा ११ सञ्चालन गर्ने अनुमति माग गरिएपनि कहीँपनि दर्ता नै नभएको प्रिन्सटन मोडेल एकेडेमी गैह्रकानुनी रहेको महानगरका शिक्षा अधिकृत नारायण चापागाईँले बताए ।

यसअघि सोमवार मात्रै महानगरले अन्नपूर्ण कलेज र युनिभर्सल एकेडेमीमा सिल गरेको थियो भने त्यसअघि वीरगञ्ज स्कुल अफ ल, इम्पेरियल कलेज र बिजि बी किड्समा सिल गरेको थियो ।