वीरगन्जलाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा प्रमुख सिंहको जोड

वीरगन्जलाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा प्रमुख सिंहको जोड

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगन्ज लाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा जोड दिएका छन् । आर्थिक नगरीको रुपमा परिचित वीरगन्ज लाई आर्थिक रुपमा सबल बनाउनका लागि महानगरले काम गरीरहेको महानगर प्रमुख सिंहको भनाई छ ।  

मंगलवार भारत गुजरातको क्लस्टर पल्स इकोनोमिक डेभलपमेन्ट का संस्थापक एवम् अध्यक्ष डा. जगत शाहसँगको भेटवार्ताका क्रममा उनले आर्थिक क्षेत्रको सुधार बिना अन्य क्षेत्रमा विकास गर्न नसकिने धारणा राखे । औद्योगिक एवम् आर्थिक नगरी वीरगन्ज मा डा. शाहलाई स्वागत गर्दै उनले समृद्धि र विकासका लागि आर्थिक, भौतिक एवम् नीतिगत सहयोग र सहकार्यका लागि महानगर तयार रहेको बताए । 

डा. शाहले पनि भारतको तर्फबाट दीगो उपलब्धी हुने खालका योजनामा लगानी गर्न तयार रहेको बताउँदै त्यसको लागि वातावरण निर्माण गर्न आग्रह गरेका छन् । नेपाल र भारतबीचको रोटीबेटीको सम्बन्ध रहेको स्मरण गर्दै उनले भारतीय लगानी ल्याउने वातावरण बनाउनुपर्ने आवश्यक्ता औल्याए । 

सो अवसरमा वीरगन्ज महानगरपालिकाका आर्थिक सल्लाहकार एवम् नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्य, वरिष्ठ पत्रकार एवं विश्लेषक चन्द्रकिशोर झा, भारतीय दुतावास वीरगन्ज का प्रतिनीधि लगायतको उपस्थिती रहेको थियो ।