भंगेराको संरक्षणमा वीरगन्ज महानगर
वीरगन्ज । भंगेरा प्रजातिको पंक्षीसँगै अन्य पंक्षीहरुको संरक्षणका लागि वीरगन्ज महानगर गम्भिर रहेको महानगर प्रमुख राजेशमान सिंहले बताएका छन् । महानगरको सहयोगमा फोर गुड्स रिजन (फोरजीआर) संस्थाले सुरु गरेको गौरैया (भंगेरो) बचाउ अभियानअन्र्तगत भंगेराको गुड (स्प्यारो हाउस) राख्ने अवसरमा महानगर प्रमुख सिंहले सबैले आआफ्नो घरघरमा गुड राखेर भंगेरासहित अन्य पंक्षीको बासस्थानको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए ।
पछिल्लो समयमा वनजंगल मासिदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले रुखविरुवा रोपेर महानगरलाई हराभरा बनाउने महानगरको प्राथमिकताको विषय भएको बताए । उनले भने, ‘महानगरलाई हराभरा बनाउने अभियान हामीले अघि सारेका छौँ, जसमा रुखविरुवा रोप्ने छौँ, त्यसले पनि पंक्षीको संरक्षणमा सघाउ पुग्छ भन्ने हाम्रो विश्वास छ ।’
वीरगन्ज महानगरभित्रका सार्वजनिक स्थानमा तत्कालका लागि ५ सय पिस भंगेराको गुड (स्प्यारो हाउस) राखिएको फोरजीआरकी अध्यक्ष नुतन सरावगीले जानकारी दिइन् । उनकाअनुसार आगामी दिनमा अन्य स्थानमा पनि गुड राख्ने योजनाअनुरुप काम भइरहेको छ । साथै उनले फोरजीआर संस्थाले पाँच रुपैयाँमै खाना खुवाउनेदेखि अन्य परोपकारका कामहरु गर्दै आएको पनि जानकारी गराइन् ।
admin