बाराको सिमरनगढलाई विश्व सम्पदा सूचीमा समावेश गर्न एमाले सांसदको माग
काठमान्डौं । सङ्घीय संसद्, प्रतिनिधिसभाका सांसद अच्युतप्रसाद मैनालीले बाराको सिमरनगढलाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा मैनालीले भन्नुभयो, “बाराको सिमरनगढ एतिहासिक, पुरातात्विक र सांस्कृतिक नगरी हो, विसं १३८१ मा राजा हरिसिंह देवलाई दिल्लीका बादशाह गयासुद्धिन तुग्लकले आक्रमण गरेपछि साम्राज्य ध्वस्त हुन पुग्यो ।
अहिले विगत छ वर्षको अन्तरालमा पोखरी खन्ने क्रममा श्रीकृष्ण र स्वामिनारायणको मन्दिर, एक हजारवर्षभन्दा पुराना पुरातात्विक संरचना फेला परेको छ । त्यसैले संरक्षित क्षेत्र घोषणा गरियोस् ।” सांसद अञ्जनी श्रेष्ठले चितवनको राष्ट्रिय निकुञ्ज आसपासमा बसोबास गर्ने मानिसलाई वन्यजन्तुले आक्रमण गर्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद अनिता देवीले अनागरिकलाई जतिसक्दो चाँडो नागरिकताको व्यवस्था गर्नुपर्ने माग गर्नुभययो । सांसद अनिसा नेपालीले दूध तथा दुग्धजन्य पदार्थलाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो । सांसद अब्दुल खानले संविधानमा भएको मौलिक हकको कानुन नबन्दा महिला, दलित, मधेसीलगायत उत्पीडित समुदाय मारमा पर्ने गरेको भन्दै मौलिक हकको कानुन बनाएर लागू गर्नुपर्नेमा जोड दिनुभयो ।
admin