हेटौँडा सिमेन्ट उद्योग आजदेखि पुनः सञ्चालनमा
काठमान्डौं । दुई महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आज बिहानदेखि पुनः उत्पादन सुरु गरेको छ । उद्योगले सिमेन्टका साथै सिमेन्ट बनाउन प्रयोग हुने ‘क्लिङ्कर’को उत्पादन पनि सुरु गरेको जनाएको छ । क्लिङ्कर उत्पादनका लागि चाहिने आगो बाल्ने भट्टीमा विभिन्न उपकरण बिग्रिनुका साथै कोइलाको अभाव भएकाले सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनले जनाएको छ । हाल बिग्रिएका उपकरण मर्मत गरी उद्योग सञ्चालनमा आएको छ । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले रासससँग आज कुराकानी गर्नुहुँदै उद्योगले बोलपत्र आह्वान गरेर भारत, इन्डोनसिया र भुटानबाट गुणस्तरीय कोइलाको आपूर्ति गरेको बताउनुभयो ।
उहाँले प्रथम र दोस्रो चरणमा गरी एक हजार आठ सय मेट्रिक टन कोइला आइसकेकाले आजैबाट उत्पादन सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी एक हजार दुई सय मेट्रिक टन कोइला यही असार मसान्तभित्र आपूर्ति हुनेछ । महाप्रबन्धक पाण्डेले सिमेन्ट उद्योगलाई १६ हजार मेट्रिक टन गुणस्तरीय कोइला आवश्यक पर्ने भए पनि आर्थिक अभावका कारण एकै पटक कोइला खरिद प्रक्रिया अगाडि बढाउन कठिनाइ उत्पन्न भएको उल्लेख गर्नुभयो । हेटौँडा सिमेन्ट उद्योगमा चार दशक पुराना उपकरण रहेकाले बेलाबेला उक्त उपकरण बिग्रिएर मर्मत गर्नुपर्ने भएकाले उत्पादन बन्द गर्नुपरेको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिनुभयो ।
“यसरी सञ्चालित उद्योग बन्द गर्नुपर्दा करोडौँको क्षति भएको छ । अब नयाँ प्रविधि भित्र्याएर उद्योगलाई आत्मनिर्भर बनाउने तर्फ योजना बनाएर कार्यान्वयन गर्नेछौँ”, उहाँले भन्नुभयो ।
admin