बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिष्पर्धा बढेको छ: अर्थमन्त्री डा महत
काठमान्डौं । अर्थमन्त्री डा प्रकाशशरण महतले बैंक तथा वित्तीय संस्थामा अस्वस्थ प्रतिस्पर्धा बढेको बताउनुभएको छ । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घले काठामाडौँमा आज आयोजना गरेको ‘नेपालको वित्तीय क्षेत्रको चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा’ विषयक सामाजिक संवाद कार्यक्रममा अर्थमन्त्री डा महतले बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्ताप्रति जिम्मेवार भएर स्वस्थ प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले बैंक तथा वित्तीय संस्था ब्याजदर बढाउने विषयमा भने मिलेमतो गर्ने गरेको समेत बताउनुभयो । “ब्याजदर बढाउने घटाउने विषयमा मिलेमतो र एकाधिकार जस्तो भयो”, उहाँले भन्नुभयो, “एउटै व्यक्ति व्यवसायी र बैंकर हुँदा कर्जा क्षेत्रमा पनि समस्या छ । यस्तो हुँदा कर्जा सुविधा बढी लिने गरेको वास्तविकता हामीले देखेकै छौँ ।”
उहाँले बैंक वित्तीय संस्थाले परियोजना धितो राखेर कर्जा नदिने तर घरजग्गा धितो राखेर मूल्याङ्कनभन्दा बढी कर्जा प्रवाह गर्ने गरेको पनि अर्थमन्त्री महतको भनाइ छ ।
त्यस्तै उत्पादनशील क्षेत्रमा भन्दा उपभोगका क्षेत्रमा बढी ऋण लगानी हुने गरेकामा नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यसलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
admin