वीरगन्ज बनाउन सबैको साथ आवश्यक: मेयर सिंह

वीरगन्ज बनाउन सबैको साथ आवश्यक: मेयर सिंह

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभएको छ । लायन्स क्लब अफ इन्टरनेशनलको आयोजनामा शुक्रबार आयोजित मेडिकल सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले वीरगञ्ज्लाई समृद्ध बनाउन लायन्स लगायत सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभएको हो । 

लायन्स क्लबले वीरगन्ज र यस क्षेत्रमा गरेको कामको सह्राना गर्दै उहाँले आउँदा दिनमा वीरगन्जको आवश्यकता र यहाँका नागरिकको चाहना बमोजिमका कार्यक्रम संचालन गर्न पनि आग्रह गर्नुभयो ।  लायन्ससँग सहकार्य गर्दै महानगर अघि बढ्न तयार रहेको भन्दै मेयर सिंहले महानगरले स्थापना गरेर संचालनको तयारी गरेको वीरगन्ज जनस्वास्थ्य प्रयोगशालामा केही उपकरणहरु आवश्यक रहेकाले त्यसको व्यवस्था गरिदिन आग्रह गर्नुभयो । 

लायन्स क्लब अफ इन्टरनेशनलका डिएन अग्रवालले शिक्षा स्वास्थ्यको क्षेत्रमा लायन्स क्लबले काम गर्दै आएको जानकारी दिनुहुँदै आफूहरु महानगरसँग सहकार्य गरेर अघि बढ्न सँधै तयार रहेको बताउनुभयो । महानगरको प्रयोगशालालाई आवश्यक परेको उपकरण उपलब्ध गराउन लायन्स तत्पर रहेको भन्दै अग्रवालले यसबारे छिट्टै निर्णय दिने पनि बताउनुभयो । 

क्लबले आँखाको रेटिना सम्बन्धी उपचारका लागि अति आवश्यक उपकरण मेयर सिंहले परवानिपुर स्थित केडिया आँखा अस्पताललाई हस्तान्तरण गर्नुभएको हो । करिब ८५ लाख रुपैयाँको उपकरण हस्तान्तरण भएको र यो उपकरणले आँखाको रेटिनाको शल्यकृया गर्न सहज हुने अस्पतालका संचालक राजेश केडियाले विश्वास व्यक्त गर्नुभयो । 

अहिले पनि नेपाल भारत लगायत विभिन्न स्थानका आँखाका समस्या भएका व्यक्तिहरुको उपचार गरिरहेको अस्पतालले यो उपकरण पछि अब आँखाको कुनै पनि समस्याको समाधानका लागि बाहिर जानु पर्ने बाध्यता हट्ने उहाँको विश्वास छ । 

यस्तै शुक्रबार नै क्लबले नेपाल मेडिसिटी बयोधा हस्पिटललाई पनि ४ थान डायलासिस मेसिन हस्तान्तरण गरेको छ । अस्पतालले डायलासिसका लागि निशुल्क व्यवस्था मिलाएकाले त्यहाँ जाने मृगौला बिरामीका लागि सहज होस भनेर आफूहरुले मेसिन उपलब्ध गराएको लायन्स क्लब इन्टरनेशनलका डिएन अग्रवालले जानकारी दिनुभयो । 

अस्पतालले यस अघि देखि नै डायलासिस निशुल्क गरिरहेको र अहिले प्राप्त उपकरणबाट पनि थप निशुल्क गर्न आफूहरुलाई उत्साह थपिएको अस्पतालले जनाएको छ ।