बागमतीमा सार्वजनिक विश्वविद्यालय स्थापना गर्छौँ: मुख्यमन्त्री जम्कट्टेल
काठमान्डौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने बताउनुभएको छ । प्रदेश उच्च शिक्षा परिषद्को आज कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री एवं प्रदेश उच्च शिक्षा परिषद्का अध्यक्ष जम्कट्टेलले उच्च शिक्षासम्बन्धी नीति तथा रणनीति तयार गर्ने र विश्वविद्यालयको सञ्चालनका लागि सामान्य नीतिगत मार्गनिर्देशन गर्न परिषद्ले भूमिका खेल्ने बताउनुभयो । आर्थिक सहायता तथा अनुदानका सम्बन्धमा आधारभूत नीति तथा योजना सिफारिस गर्ने, गुणस्तर तथा सुशासनसम्बन्धी मापदण्ड सिफारिस गर्नेलगायतका काम गर्न सहज हुने उल्लेख गर्दै उहाँले प्रदेशलाई चाहिने जनशक्ति उत्पादन गर्न प्रदेश उच्च शिक्षा परिषद्ले भूमिका खेल्ने बताउनुभयो । परिषद्ले प्रदेश सरकारबाट स्थापना हुने प्रदेश विश्वविद्यालय, प्रदेश सरकारको स्वीकृतिबमोजिम मुनाफा आर्जन नगर्ने सामुदायिक विश्वविद्यालय, शैक्षिक उपाधि प्रदान गर्न सक्ने स्वायत्त प्रतिष्ठान, उच्च शिक्षण संस्था र आङ्गिक क्याम्पसलाई स्वायत्तता दिने मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो । उहाँले प्रदेशको आवश्यक्तालाई मध्यनजर गर्दै प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा जोड दिन प्रदेश सरकारको मुख्य उद्देश्य रहेको बताउनुभयो ।
admin