भक्तपुरमा १५० शैय्याको अस्पताल बनाउन कोरियासँग सम्झौता

भक्तपुरमा १५० शैय्याको अस्पताल बनाउन कोरियासँग सम्झौता

काठमान्डौं । भक्तपुरको मध्यपुर थिमिमा १५० शैयाको अस्पताल स्थापना गर्न गणतन्त्र कोरियाले ९ दशमलव ५ मिलियन अमेरिकी डलर खर्च गर्ने भएको छ । 

भक्तपुरको विपन्न वर्गहरुका लागि स्वास्थ्य सेवाको सहज पहुँचका लािग अस्पताल स्थापना गर्ने परियोजना सम्बन्धी समझदारी पत्रमा मंगलबार अर्थमन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेल र नेपालस्थीत कोरियाली राजदूतावासका राजदूत पार्क ते–योङले हस्ताक्षर गर्नुभएको हो ।

सार्वजनिक स्वास्थ्य वीमा लक्ष्यका साथ कोरिया अन्तराष्ट्रिय सहयोग निकाय(कोइका) मार्फत २०२७ सम्ममा पुरा हुने आयोजनाका लागि ९ दशमलव ५ मिलियन अमेरिकी डलर खर्च गरिने बताइएको छ ।

परियोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसंगको सहकार्य र समन्वयमा कोईका, मध्यपुर नगरपालीका र नेपाल कोरिया मैत्री नगरपालीका अस्पतालले कार्यान्वयन गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

सम्झौता अनुसार कोइकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल छेउको जग्गामा १५० शैयाको अस्पताल निर्मण गर्ने, आवश्यक स्वास्थ्य उपकरण उपलव्ध गराउने उल्लेख छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा अर्थमन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले दुईदेशबीचको सम्बन्धलाई अभिवृद्धि गर्ने साझेदारीका लागि कृतज्ञता व्यक्त गर्दै यस आयोजनालाई सफल कार्यान्वयनका लागि सहयोग गर्ने बतायनुभयो । 

त्यस्तै कोरियाली राजदूतावासका राजदूत पार्क ते–योङले यस परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारको तर्फबाट पूर्ण सहयोगको अपेक्षा गर्नुभयो । उहाले नेपाल र कोरियाबीचको दुईपक्षिय कूटनीतिक सम्बन्धको ५० औं बर्षगाठ मनाउन इन्छकु भएको बताउनुभयो ।