वीरगन्जमै परीक्षा केन्द्र हुनुपर्ने माग गर्दै सिमरामा प्रदर्शन, ७ जना प्रहरीको नियन्त्रणमा

वीरगन्जमै परीक्षा केन्द्र हुनुपर्ने माग गर्दै सिमरामा प्रदर्शन, ७ जना प्रहरीको नियन्त्रणमा

वीरगन्ज ।  वीरगन्जमै परीक्षा केन्द्र हुनुपर्ने माग गर्दै आन्दोलन गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय सिमराले सिमरा कलेजको परिसरमा प्रदर्शन तथा विरोध गर्ने ७ जना विद्यार्थी नेताहरुर्लाी नियन्त्रणम लिएको हो । 

वीरगन्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसको परीक्षा केन्द्र बाराका कलेजमा परेपछि आन्दोलनरत नेपाल विद्यार्थी संगठन क्याम्पस ईकाईका सभापति रमेश यादव, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष मिरोज अहमद, अनेरास्ववियुका केन्द्रीय सदस्य एवम् पर्सा जिल्ला ईन्चार्ज रेयाज अन्सारी, समाजवादी विद्यार्थी संगठनका सागिर अली, अनेरास्ववियु क्याम्पस ईकाई कमिटीका उपाध्यक्ष अर्मान हास्मी, कमलेश यादव र बिशाल पटेललाई प्रहरीले नियन्त्रणमा लिएको अनेरास्ववियु वीरगन्ज महानगर कमिटीका अध्यक्ष आशिफ अहमदले जानकारी दिए । 

यसअघि उनीहरुले सिमरा कलेजको परिसरमा नाराबाजी गर्दै प्रदर्शन गरेका थिए । उनीहरुले ‘हाम्रो सेन्टर वीरगञ्ज होस्, क्याम्पस प्रमुख राजीनामा दे, विद्यार्थी एकता जिन्दावाद’ लगायतका नारा लगाएका थिए । 

स्नातक तेस्रो वर्षको परीक्षा दिएर फर्किने क्रममा सोमवार एक जना विद्यार्थीको दुर्घटनामा ज्यान गएको हुँदा आफ्नै जिल्लामा परीक्षा केन्द्र राख्नुपर्ने अहमदको भनाई छ ।

जिल्लाभित्रै केन्द्र भएको भए दुखद घटना नहुने उनको भनाई छ । तेस्रो वर्षको परीक्षा दिन ७० जना विद्यार्थी कक्षाकोठामा गएपनि करिब ५ सय भन्दा बढी विद्यार्थी परीक्षामा सहभागी नभएर विरोध गरीरहेको अहमदले बताए ।

प्रदर्शनका क्रममा प्रहरीले लाठी चार्ज गर्दै दमन गरेको उनको आरोप छ । यता ईलाका प्रहरी कार्यालय सिमराले भने विद्यार्थीहरुलाई परीक्षा दिन नदिएर प्रदर्शन गर्नेहरुलाई नियन्त्रणमा लिइएको जनाएको छ ।