मुख्य नालामाथी बनेको संरचना हटाउन हरिखेतान क्याम्पसलाई महानगरको निर्देशन

मुख्य नालामाथी बनेको संरचना हटाउन हरिखेतान क्याम्पसलाई महानगरको निर्देशन

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले मुख्य नालामाथि निर्माण गरेको संरचना हटाउन हरिखेतान बहुमुखी क्याम्पसलाई निर्देशन दिएको छ । 

क्याम्पसको संरचना मुख्य नालामाथी निर्माण हुँदा नाला सफाईमा अवरोध भएकाले निर्माण गरिएका संरचना हटाउन महानगरले क्याम्पसलाई निर्देशन दिएको हो । 

जिल्ला हुलाक कार्यालयदेखी मुख्य नाला सफाई गर्दै आएको महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउँदै सफाईलाई निरन्तरता दिँदै आएको छ । 

हरिखेतान क्याम्पस पछाडीसम्म सफाई गरेको महानगरले क्याम्पसको संरचना नहट्दा मुख्य नाला सफाइमा अबरोध भएपछि क्याम्पसको संरचना तत्काल हटाउन महानगरले शुक्रबार क्याम्पस प्रशासनलाई निर्देशन दिएको हो । 

पटक पटक सूचना दिँदा पनि हटाउन अटेर गरेपछि महानगरको भौतिक पूर्वाधार अतिक्रमण नियन्त्रण समितिका संयोजक एवं वडा नम्वर ५ का वडा अध्यक्ष प्रदीप चौरसिया नेतृत्वमा गएको टोलीले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन क्याम्पस प्रशासनलाई निर्देशन दिएको हो । 

क्याम्पस संचालक समितिका सुनिल खेतान र क्याम्पस प्रमुख भगवान यादबलाई भेटेर टोलीले अतिक्रमण गरेर बनाइएको मुख्य नाला माथी बनेको संरचना हटाउन निर्देशन दिएको संयोजक चौरसियाले जानकारी दिए । 

शुक्रबार बिहान मात्रै वीरगन्ज–१० आदर्शनगरस्थित मुख्य नाला अतिक्रमण गरि बनाईएको होटल ओम रेसिडेन्सीको भवन, आश्विनी शर्माले निर्माण गरेको भवन र सत्यनारायण रौनियारले निर्माण गरेको भौतिक संरचना महानगरल डोजर लगाएर हटाइएको थियो । 

वीरगन्जमा मुख्य सडकको नाला र श्रीपुर क्षेत्रबाट आउने अर्काे नाला जोडिएर बनेको मुख्य नाला जिल्ला प्रशासन कार्यालय पर्साको छेउँ हुँदै दक्षिणतिर बगेको छ । गीता मन्दीरदेखि आदर्शनगर हरिखेतान क्याम्पस सम्मको क्षेत्रमा मुख्य नालाको दुबै तर्फ अतिक्रमण गरेर संरचना बनेका छन् । 

आदर्शनगरको क्लासिक होटल र कर्पोरेट डेभलपमेन्ट बैंकको भवन पनि नाला माथि नै निर्माण गरिएको छ । अहिले क्लासिक होटल पछाडीसम्मको मुख्य नालामा बनेका संरचना हटाउँदै नाला पूर्ण रुपमा सफाई गरिसकिएको छ । 

राष्ट्रिय वाणिज्य बैंक पछाडीतर्फ पनि हरिखेतान क्याम्पससम्मको क्षेत्रमा पर्ने मुख्य नालामा परेका संरचना हटाउँदै नाला सफाई गर्ने क्रम अगाडी बढाइएको हो । जस अनुरुप शुक्रबार तीन वटा संरचना डोजर लगाएर हटाइएको छ भने हरिखेतान क्याम्पस पनि हटाउन शुक्रबार क्याम्पस प्रशासनलाई निर्देशन दिई सकिएको छ । 

महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन पटक पटक ताकेता गर्दा पनि अटेर गरेपछि आफैले डोजर लगाएर हटाउँदै सफाइलाई तिब्रता दिँदै आएको छ । 

वर्षौँदेखि मुख्य नाला सफाई नहुँदा वीरगन्ज वर्षातको समयमा डुबानमा पर्दै आएको छ । यस पटक मुख्य नाला पूर्ण रुपमा सफाई गर्न महानगरले सबै उपाय अवलम्बन गरेको छ । 

सहायक नालाहरु पनि सफाई गर्दै मुख्य नाला पूर्ण रुपमा सफाई गर्न अवरोध गर्ने संरचना हटाउन महानगर प्रमुख राजेशमान सिंहले निर्देशन दिए अनुरुप काम भइरहेको समितिका संयोजक चौरसियाले जानकारी दिए । 

‘वीरगन्ज डुबानबाट जोगाउन मुख्य तथा सहायक नाला सफाई हुन जरुरी छ,’ महानगर प्रमुख सिंहले भने, ‘त्यसका लागि हामीले दिन रात गरेर नाला सफाईलाई तिब्रता दिएका छौँ, नाला अतिक्रमण गरेर निर्माण भएका जुनसुकै संरचना पनि हटाइने छ ।’ 

महानगरको भौतिक पूर्वाधार अतिक्रमण नियन्त्रण समितिका संयोजक एवं वडा नम्वर ५ का वडा अध्यक्ष प्रदीप चौरसिया नेतृत्वमा हरिखेतान गएको टोलीमा महानगर प्रमुखको सचिवालय सल्लाहकार हरि पोखरेल, प्राविधिक सल्लाहकार प्रकाश अमात्य, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, महानगर प्रमुखका स्वकिय सचिव सत्यराज घिमिरे, प्रशासन प्रमुख राजकृष्ण ताम्राकार, नगर प्रहरी प्रमुख हरि भुषाल, सरसफाई प्रमुख सर्फुद्दिन मियाँ, हरियाली तथा सरसफाई संयोजक प्रकाश खेतान लगाएत रहनुभएको थियो ।