११ औँ राष्ट्रिय खेलकुद प्रतियोगीता वीरगन्जमा गर्ने तयारी

११ औँ राष्ट्रिय खेलकुद प्रतियोगीता वीरगन्जमा गर्ने तयारी

वीरगन्ज।  खेलमार्फत पर्यटनको प्रवद्र्धन गर्न सकेमा स्वदेशमै रोजगार सृजना गर्न सकिने युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले दाबी गरे ।

शनिवार बिहान वीरगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिम्बुले वीरगन्जसहित समग्र मधेशको समृद्धीका लागि खेल क्षेत्रको प्रवद्र्धन गरेर पर्यटन व्यवसायलाई बढावा दिनुपर्नेमा जोड दिएका छन् । 

युवा तथा खेलकुद मन्त्रालयअन्र्तगतको राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगीता वीरगन्जसहित मधेश प्रदेशमा गर्ने तयारी भइरहेको मन्त्रीले लिम्बुले जानकारी गराए । 

खेलकुद प्रतियोगीता सञ्चालन गर्दा यहाँ देशैभरबाट र देशबाहिरबाट पनि खेलाडी, प्रशिक्षक एवम् खेलप्रेमीहरुको बाक्लो उपस्थिती हुने भएकाले यसबाट आर्थिक गतिविधि पनि बढ्ने र सुस्ताएको व्यापार व्यवसाय पनि चलायमान हुने मन्त्री लिम्बुको विश्वास छ । 

गण्डकी, कर्णालाी, बागमती लगायतका प्रदेशमा हुने खेलहरु अब मधेश प्रदेशमा पनि आयोजना गर्नुपर्नेमा जोड दिँदै उनले यसका लागि सबै सरोकारवालाले हातेमालो गर्नुपर्ने आवश्यक्ता औँल्याए । नारायणी रंगशालाको पुर्ननिर्माणका लागि आफु गम्भिर भएको बताउँदै उनले अर्थमन्त्री र प्रधानमन्त्रीलाई पनि ध्यानाकर्षण गराई आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

साथै उनले इनडोर खेल खेल्नका लागि नयाँ कबर्ड हल बनाउने कार्यमा पनि निजी क्षेत्रसँगै स्थानीय र प्रदेश सरकारले सहयोग तथा समन्वय गर्नुपर्ने बताए । नारायणी रंगशाला र गौतम मावि छेउको जमिनमा कबर्ड हल बनाइदिने प्रस्ताव गौतम स्कुलले गरेको जानकारी गराउँदै उनले यसका लागि सरोकारवालाले छलफल गरेर आवश्यक निष्कर्षमा पुग्न सकिने धारणा राखे । 

खेल क्षेत्रसँगै शिक्षा स्वास्थ्य लगायतका सामाजिक कार्यमा निजी क्षेत्रका सहयोगको सह्राना गर्दै मन्त्री लिम्बुले यसलाई निरन्तरता दिन आग्रह गरे । 

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले वीरगन्जलाई राज्यले उपेक्षा गर्दै आएको गुनासो गरे । उनले भने, ‘यहाँका जति पनि खेलाडी छन्, उनीहरु आफ्नै मेहनत र आफ्नै लगानीबाट स्थापित भएका छन् ।

तर राज्यले कुनै पनि लगानी यहाँका खेलाडीको प्रोत्साहनका लागि गरेको छैन ।’ आदर्शनगर रंगशाला र नारायणी रंगशालामा ठूलाठूला खेलहरु आयोजना गर्न सकिने बताउँदै उनले आदर्शनगरस्थित स्विमिङ् पुलमा अन्तर्राष्ट्रिय स्तरका पौडी प्रतियोगीता गर्न सकिने भएपनि व्यवस्थापनका कारण ओझेलमा परेको बताए । मधेश प्रदेशबाट दक्ष खेलाडी उत्पादन गर्न सकिने भएपनि राज्यको नजर पर्न नसकेकोप्रति उनले दुखेसो पोखेका छन् । 

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले निजी क्षेत्रसँग सहयोग माग्ने तर उद्योगी व्यवसायीलाई हतोत्साहित गर्ने राज्यको प्रवृतिप्रति आक्रोश पोखे ।

उनले भने, ‘व्यवसायीलाई दुख दिने राज्यको नीयतले उद्योगी व्यवसायीहरु आजित बनेको बताउँदै उनले कर्मचारीहरुले घुस खाने र व्यापार व्यवसाय बन्द गर्ने अवस्था बनाएको बताए । हरेक क्षेत्रमा सुशासनको अभाव भएको बताउँदै उनले अहिले सरकारले ल्याएको लेबलींग सम्बन्धी व्यवस्था अव्यवहारिक भएको बरिष्ठ उपाध्यक्ष गौतमको ठम्याई छ । 

कार्यक्रममा मधेश प्रदेशका प्रदेश सभा सदस्य श्याम पटेल, अमरसिंह पुन, अर्विन्द गुप्ता, नेपाली कांग्रेस वीरगन्ज महानगर समितिका सभापति मणिन्द्रलाल नेपाली लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधब राजपालले गरेका थिए ।