कलैया उपमहानगरको स्वास्थ्य शाखा विगत ११ दिनदेखि प्रमुख विहिन

कलैया उपमहानगरको स्वास्थ्य शाखा विगत ११ दिनदेखि प्रमुख विहिन

बारा । बाराको कलैया उपमहानगरपालिकाको स्वास्थ्य शाखा विगत ११ दिनदेखि प्रमुख विहिन बनेको छ । साँतौ तहका स्वास्थ्य प्रमुख प्रेमचन्द्र जयसवालले गत साउन ४ गतेदेखि अवकाश प्राप्त गरेपछि उहाँको ठाउँमा निमित्त समेत नतोकिएको हुँदा अहिले सम्म स्वास्थ्य शाखा प्रमुख विहिन बनेको हो ।

निमित्त स्वास्थ्य प्रमुखका लागी ३ जनाले दाबी गरेपछि त्यहाँ विवाद भएको छ । पाँचौ तहका अनिल पाण्डेय, चौथो तहका अजय कुमार जयसवाल र मनोज यादवले निमित्त स्वास्थ्य प्रमुखमा दावी गरेपछि विवाद उत्पन्न भएको हो ।

नगर प्रमुख विनोद साहका नजिक मानिएका अनिल पाण्डेयले आफुले नै निमित्त स्वास्थ्य प्रमुखको जिम्मेवारी पाउन दबाव दिईरहेको र अन्य कर्मचारीले उनलाई प्रमुख बनाउन नमिल्ने अडान लिएपछि निमित्त समेत तोक्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत नाथु साहले बताउनुभयो ।

अहिले छैठौं र सातौं तहका कर्मचारीे नरहेको भन्दै निमित्तमा राख्नको लागि तीन जनाकै दाबीका कारण विवाद सृजना हुने देखिएको अधिकृत साहको भनाई छ । यसको समाधानको पहल भईरहेको प्रमुख प्रशासकीय अधिकृत साहले बताउनुभयो ।