मधेस विश्वविद्यालयद्वारा कानुन सङ्कायको कक्षा सञ्चालन गर्दै
काठमान्डौं । चालु शैक्षिकसत्रबाट कानुन र सामान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने तयारीमा रहेको मधेस विश्वविद्यालयले पाठ्यक्रमलाई अन्तिम रुप दिन सरोकारवालासँग सुझाव सङ्कलन गरेको छ ।
स्थापनाकालदेखि नै भौतिक पूर्वाधार र जनशक्तिको अभाव खेप्दै आएकोे मधेस विश्वविद्यालयले चालु शैक्षिकसत्रदेखि बीए, एलएलबी र समान्य जनप्रशासन सङ्कायको कक्षा सञ्चालन गर्ने अन्तिम गरेको छ ।
यसका लागि प्रारम्भिक कार्यहरू पूरा गरी मधेस विश्वविद्यालयद्वारा गठित पाठ्यक्रम विकास समिति र काठमाडौँ विश्वविद्यालयको विज्ञ टोलीले तयार पारेको पाठ्यक्रमलाई अन्तिम रूप दिन मधेस प्रदेशका आठवटै जिल्लाका सरोकारवालासँग विश्वविद्यालयले छलफल गरेको उपकुलपति दीपक शाक्यले जानकारी दिनुभयो ।
“हामीले यही शैक्षिकसत्रबाट कानुन र समान्य जनप्रशासन गरी दुईवटा सङ्कायको कक्षा सञ्चालन गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि हामी पाठ्यक्रम निर्माण गरेर त्यस विषयमा सरोकारवालासँग छलफल गरी सुझाव लिइरहेका छौँ ।”
पाठ्यक्रम निर्माण समितिका संयोजक प्रा डा युवराज सङ्ग्रौला नेतृत्वको टोलीले जिल्ला–जिल्लामा पुगेर सङ्कलन गरेको सुझावसहितको प्रतिवेदन पेस गर्नुहुन्छ, यसलाई एकेडेमिक काउन्सिलले पास गरेपछि हामी भर्ना प्रक्रिया सुरु गर्छाैँ, उहाँले भन्नुभयो ।
admin