विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लगिने छ: प्रधानमन्त्री प्रचण्ड
काठमान्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई सक्षम संस्थाको रूपमा विकास गरिने बताउनुभएको छ । लगानी बोर्डको कार्यालयको वार्षिक प्रतिवेदन आज बिहान ग्रहण गर्दै उहाँले बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने संस्थाका रूपमा अघि बढाइने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले बोर्डलाई सक्षम बनाउन आवश्यक नीतिगत, कानुनी तथा संस्थागत सुधारको खाका प्रस्तुत गर्न प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिनुभयो । उहाँले बोर्डलाई रणनीतिक पूर्वाधार परियोजना निर्माणमा मुख्य संरचनाका रूपमा विकास गर्ने सरकारको सोच रहेको बताउनुभयो ।
समन्वय, सहकार्य र साझेदारीका क्षेत्रमा बोर्डको कार्यालयबाट पर्याप्त कार्य भएको आफूले महसुस गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले लगानी बोर्डलाई नयाँ उचाइ दिएर राष्ट्रको समृद्धि र विकासमा योगदान पुर्याउन आग्रह गर्नुभयो । आगामी वर्ष पनि विगतमा जस्तै प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिँदै उहाँले आफ्ना तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गत आवमा बोर्डको कार्यालयबाट भएका कामले देशमा ठूला पूर्वाधार निर्माणमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) सहित निजी क्षेत्रको लगानी जुटाउन सकिन्छ भन्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लैजान सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
admin