समसामयिक विषयमा एमाले पर्साद्वारा सरकारको ध्यानाकर्षण
वीरगन्ज । नेकपा एमाले जिल्ला कमिर्टी पर्साले मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषाणा गर्न माग गरेको छ । एमाले पर्साका संयोजक डा. बिशम्भर शर्माद्वारा हस्ताक्षरित ज्ञापन पत्र मंगलवार जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालमार्फत ज्ञापन पत्र बुझाइएको छ ।
ज्ञापन पत्रमार्फत अन्नको भण्डार मानिने मधेश प्रदेशमा ४१ दशमलव १९ प्रतिशत जग्गा बाँझो रहेको र रोपाई भएको ५८ दशमलव ८१ प्रतिशत जग्गाको बाली पनि सुक्दै गएकोप्रति चिन्ता व्यक्त गरिएको छ । मधेश प्रदेशमा पिउने पानीको हाहाकार भएको र चापाकल सुक्दै गएको प्रति पनि ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराइएको नेकपा एमाले वीरगन्ज महानगर कमिटीका सचिव सुन्दर कुर्मीले जानकारी दिए । उनकाअनुसार यस क्षेत्रका नागरिकलाई यथाशीघ्र पिउने पानीको प्रबन्ध मिलाउनुका साथै लोडसेडिङ्का कारण जनतालाई सास्ती दिने काम बन्द गर्न आग्रह गरिएको छ ।
त्यस्तै देशैभर गाईबस्तुमा महामारीका रुपमा फैलिँदै गएको लम्पी स्किन रोगको नियन्त्रण रोक्नका लागि प्रभावकारी उपाय अबलम्बन गर्न माग गरिएको कुर्मीले बताए । त्यस्तै गाई, भैँसी मरीसकेका कृषकलाई आवश्यक राहत तथा क्षतिपूर्तीको व्यवस्था गर्न पनि ज्ञापन पत्र मार्फत माग गरिएको छ । ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले माग जायज भएको बताउँदै आफुले मागको सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
ज्ञापन पत्र बुझाउन नेकपा एमालेका केन्द्रीय सदस्य अर्विन्द सिंह, पार्टीका पदाधिकारी, सदस्यहरु, विद्यार्थी नेता लगायतको उपस्थिती रहेको राष्ट्रिय युवा संघ पर्साका उपाध्यक्ष आमिर खानले जानकारी दिए । उनकाअनुसार ज्ञापन पत्र बुझाउन जाँदा केही बेर जिल्ला प्रशासन कार्यालय परिसरमा प्रहरीले हस्तक्षेप समेत गरेको थियो ।
admin