एच.आइ.भी संक्रमणको अवस्था बारे वीरगन्जमा सरोकारवाला बीच छलफल

एच.आइ.भी संक्रमणको अवस्था बारे वीरगन्जमा सरोकारवाला बीच छलफल

वीरगन्ज । एच.आइ.भी संक्रमित महिलाहरुको राष्ट्रिय महासंघ मधेश प्रदेशको आयोजना र नयाँ जीवन विकास सेवा समाजको समन्वयमा वीरगन्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा एच.आइ.भी संक्रमित महिलाहरुको राष्ट्रिय महासघको परिचय, संचालन भइरहेका परियोजना, उपलब्धि र समग्र संक्रमितको अवस्थाको बारेमा मधेश प्रदेशका फोकल पर्सन रिंजव चौरसियाले प्रस्तुत गरेका थिए । 

लैंगिक हिंसा सम्बन्धी घटनामा पिडित भएकाहरुको व्यवस्थापनका लागि सेफर हाउसको निर्माण गर्नुपर्नेमा अन्तरक्रियामा सहभागीहरुले जोड दिएका थिए । प्रदेश स्तरीय सरोकारवालासँगको अन्तरक्रियाका क्रममा सहभागीहरुले सेफर हाउस निर्माण गर्नुपर्ने आवश्यक्ता औँल्याएका हुन् । 

लैंगिक हिंसा बढ्दै जाँदा आफ्नै परिवारबाट पिडित भएपछि घरमा बस्न नसक्ने र व्यवस्थापनमा समस्या हुने गरेको नारायणी अस्पतालकी एकद्वार संकट व्यवस्थापन समिती (ओसिएमसी) की फोकल पर्सन हेमा थापाले बताइन् । लैंगिक हिंसाहरुमा राजनीतिक प्रभाव पर्ने भएकाले पिडितले न्याय नपाउने र पिडकले सजाय नपाउने गरेको उनको भनाई छ । 

ओसीएमसीमार्फत हिंसामा परेका महिलाहरुको उद्धार एवम् उपचारसँगै व्यवस्थापनका कामहरु भइरहेको बताउँदै उनले मधेश प्रदेशमा मात्रै सेफर हाउस निर्माण हुन नसकेकोमा दुख व्यक्त गरिन् । नयाँ जीवन विकास सेवा समाजका कार्यकारी निर्देशक हुसैन अन्सारीले संस्थाको काम, अहिलेसम्मका गतिविधि र उत्प्रेरक कोष अन्र्तगतको नियमित बैठक तथा लैंगिकताका आधारमा हुने हिंसा र योजनाका बारेमा प्रकाश पारेका थिए । एच.आई.भि संक्रमितहरुको उपचारसँगै उनीहरुको अवस्थाको बारेमा उनले अवगत गराएका थिए । 

अन्तरक्रियालाई सम्बोधन गर्दै स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साहले सबै गैरसरकारी संस्थाहरुले काम गर्दा सम्बन्धीत संस्था एवम् कार्यालयसँग समन्वय गर्न सुझाव दिएका छन् । स्वास्थ्य कार्यालयसँग समन्वय गर्दा कामको प्रतिफल अझै राम्रो आउने उनले दाबी गरे ।

वीरगन्ज  महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास शाखाका प्रमुख अनिल कुमार यादवले महानगरले पनि एच.आई.भि. को क्षेत्रमा काम गरीरहेको जानकारी गराए । उनकाअनुसार महानगरले विभिन्न संघसंस्थासँग सहकार्य गरेर काम गरीरहेको छ । 

कार्यक्रममा बाराको बिश्रामपुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अलिअकबर हुसैन, नारायणी अस्पतालको एआरटी सेन्टरकी इन्चार्ज सरिता श्रेष्ठ, एड्स हेल्थकेयर फाउण्डेशनका फोकल पर्सन आशिष गुरागाइँ सहित विभिन्न स्थानीय तहका स्वास्थ्य शाखा संयोजक लगायतको उपस्थिती रहेको थियो । अन्तरक्रिया कार्यक्रमको सहजीकरण बाराको बिश्रामपुर गाउँपालिका स्वास्थ्य चौकीका सुबासचन्द्र गुप्ताले गरेका थिए ।