महानगरको सेवा पारदर्शी बनाउनेमा हामी दृढ छौँ : मेयर सिंह
वीरगन्ज । वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका छन् । २०७९ सालको निर्वाचन सम्पन्न भएपश्चात आफुले महानगरको नेतृत्व सम्हालेदेखिको सेवा प्रवाह र महानगरले गरेका हरेक कार्यको निष्पक्ष छानविनका लागि तयार रहेको प्रमुख सिंहले सोमवार सामाजिक सञ्जालमा एक स्टाटस लेखेर जानकारी दिएका हुन् ।
महानगरका काममा अनियमितता र भ्रष्टाचार भएको भन्ने विभिन्न सञ्चार माध्ययममा आएका समाचारहरुमा ध्यानाकर्षण भएको जनाउँदै उनले आफुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानविनका लागि पटकपटक निमन्त्रणा गरेपनि अख्तियार नआएको बताए । महानगरको सेवा प्रवाह पारदर्शी होस् भन्नेमा दृढ रहेको सिंहको भनाई छ ।
उनले लेखेका छन्, ‘सुशासन, पारदर्शिता र उत्तरदायित्व वीरगन्ज महानगरको मूल स्तम्भ हो । विगतमा भएका सबै अनियमितताका फाइल खोतल्दै त्यसमा संलग्नलाई हतकडी लगाउन अख्तियार लगायत सम्बन्धित निकायलाई हामीले पटक पटक आमन्त्रण गरेका छौँ ।’ कसैको आरोप प्रत्यारोप भन्दा पनि तथ्य र तथ्यांकमा रहेर काम भइरहेको उनले जिकिर गरेका छन् ।
admin